‘राजनीतिक प्रस्ताव फिर्ता लिने समझदारी भएको छैन’

Prachanda-32
लोकपाटी न्यूज

काठमाडौं, १ पुस। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक प्रस्ताव फिर्ता लिनेबारे कुनै सहमति नभएको स्पष्ट पारेको छ। बुधबार प्रधानमन्त्री ओलीको सचिवालयले राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति भएको भन्दै समाचार सम्प्रेषण गराएको थियो।

तर, प्रचण्डको सचिवालयले उक्त हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। सचिवालय स्रोतका अनुसार बुधबार दिउँसो ओली र प्रचण्डबिच भएको छलफलमा सरकारले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी जारी गरेको अध्यादेश फिर्ता गर्ने र प्रचण्ड–नेपाल समूहले संसदको विशेष अधिवेशन मागको प्रस्ताव स्थगित गर्ने सहमति मात्र जुटेको छ।

केही सञ्चार माध्यमहरुले बुधबार भएको छलफलमा ओली र प्रचण्डबिच भदौ २६ को निर्णयमा फर्किने समझदारी भएको भन्दै समाचार सम्प्रेषण गरेका थिए। ओली र प्रचण्डद्वारा पार्टी कमिटीमा पेश गरेका प्रतिवेदन र चिठ्ठीपत्रहरु फिर्ता गर्ने र सहमतिको दस्तावेज बनाउने समझदारी भएको भन्ने गलत समाचार सार्वजनिक भएपछि प्रचण्डको सचिवालयले त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेको हो।

बुधबार सम्पन्न स्थायी समितिको अर्को बैठक पुस ५ गते बस्नेछ। बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

सरकारले अध्यादेश जारी गरेपछि बुधबार नेकपाका सांसद संसद् अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका थिए। बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारीपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी स्थायी कमिटी सदस्यलाई गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्तै, पुस ५ लाई निर्धारित केन्द्रीय कमिटी बैठक पुस १० का लागि सरेको छ। यसअघि ओली र प्रचण्डबिच दुवै तर्फबाट प्रस्तुत राजनीतिक प्रस्ताव फिर्ता लिने निर्णय भएको प्रचार गरिए पनि बैठकमा त्यसबारे कुनै छलफल भएको छैन। राजनीतिक प्रस्ताव र दुवै अध्यक्षले एकअर्कामाथि अभियोग लगाउँदै लेखेका पत्रहरु अहिले पनि कायमै छन्।