अध्यादेश फिर्ताको निर्णय, अर्काे बैठकमा प्रतिवेदनमाथि छलफल

CPN_Communist_Nekapa
लोकपाटी न्यूज

काठमाडौँ। सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित भएको छ। बैठक पुस ५ गते बस्ने भएको छ। बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सरकारले अध्यादेश जारी गरेपछि बुधबार नेकपाका सांसद संसद् अधिवेशन मागको निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेका थिए। बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारीपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी स्थायी कमिटी सदस्यलाई गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्तै, पुस ५ लाई निर्धारित केन्द्रीय कमिटी बैठक पुस १० का लागि सरेको छ। यसअघि ओली र प्रचण्डबिच दुवै तर्फबाट प्रस्तुत राजनीतिक प्रस्ताव फिर्ता लिने निर्णय भएको प्रचार गरिए पनि बैठकमा त्यसबारे कुनै छलफल भएको छैन। राजनीतिक प्रस्ताव र दुवै अध्यक्षले एकअर्कामाथि अभियोग लगाउँदै लेखेका पत्रहरु अहिले पनि कायमै छन्।

पुस ५ गते हुने स्थायी समितिको बैठकमा राजनीतिक प्रस्तावहरुमाथि छलफल हुनेछ। यसअघि प्रधानमन्त्रीको सचिवालयले राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमति भएको भन्दै समाचार सम्प्रेषण गरेको थियो।