प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव, राष्ट्रपतिलाई महाअभियोग

KP_Bidhya_Nekapa
लोकपाटी न्यूज

नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोगबाट हटाउन माग गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै तरूण दलका अध्यक्ष जितजंग बस्नेतले राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वास प्रस्ताव ल्याएर पदबाट हटाउनुपर्ने उल्लेख गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकोमा तरूण दलले विरोध गरेको हो।

‘राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ,’ अध्यक्ष बस्नेतले निकालेको विज्ञप्तिमा भनिएको छ।

सरकारले महिनौंदेखि संसदलाई बन्धक बनाएको आरोप तरूण दलको छ। उपसभामुख पद खाली राखेर प्रधानमन्त्रीले स्वेच्छाचारी तरिकाले अध्यादेश ल्याएको तरूण दलको भनाइ छ।

‘स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत छ। त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न तरुण दल केन्द्रीय समिति अनुरोध गर्दछ,‘ उनले भनेका छन्।

यता अध्यादेशको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ। बुधबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अध्यादेशको चर्को विरोध गरेका छन्। नेकपाकै सांसदहरु विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुगेपछि ओलीले तत्कालका लागि अध्यादेश फिर्ता लिन सहमत भएको स्रोतको दावी छ।

नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरुले ओलीको स्वेच्छाचारिताको विरोध गर्ने एक नेताले बताए। ‘स्थायी समितिको बैठक चलिरहेको छ। ओलीका कदमबारे हामीले ठोस रुपमा निर्णय लिनुपर्छ’ उनले भने।

131634794_705830223469638_6379410107413409904_n