संसद अधिवेशन डाक्न दबाब दिने कांग्रेसको निर्णय

congress_padhadikari
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन डाक्न सरकारलाई दबाब दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज दिउँसो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। सहमहामन्त्री प्रकाशशरण महतले दिएको जानकारीअनुसार संसद बैठक तत्काल बोलाउन र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको हो।

‘संसद बैठक तत्काल बोलाउन माग गर्ने निर्णय आजको बैठकले गरेको छ,’ महतले भने। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पारित भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ। देउवा निवासमा करिब तीन घण्टा कांग्रेस शीर्ष नेता छलफलमा जुटेका थिए। मंसिर २९ गते देशैभर सरकारविरूद्ध प्रदर्शनमा जुटेकालाई कांग्रेसले धन्यवादसमेत दिएको छ।