प्रचण्डले ओलीलाई भनेः बैठकबाट कठोर निर्णय लिन्छौं

KP_Prachanda
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बुधवार दिउँसो १ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा उपस्थित नभएपछि बैठक प्रभावित भएको छ। बैठक बस्न ढिला भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेल छलफलमा जुटेको बताइएको छ।

एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष उपस्थित नभएपछि फेरि अध्यक्षद्वयले छलफल सुरु गरेका हुन्। आज बिहान मात्र ओली र प्रचण्डबीच छलफल भएको थियो। उक्त भेटमा प्रचण्डले ओलीलाई पार्टीले कारबाही गर्ने बताएका थिए। प्रचण्ड निकट स्रोतका अनुसार स्थायी कमिटी बैठकअघि भएको भेटमा ओलीलाई अब पार्टीले कारबाही गर्ने भन्दै प्रचण्डले पार्टीले अब उचित निर्णय लिने बताएका छन्।

‘तपाईँलाई अब पार्टीले कारबाही गर्छ। अध्यादेश जुन ध्येयका साथ ल्याउनुभयो, त्यो काम गर्नुस्, अब पार्टीले तपाईँको हरेक निर्णय पढेर मात्रै बस्दैन, उचित निर्णय पनि गर्छ।’ प्रचण्डले ओलीलाई राखेको भनाई उदृत गर्दै खुमलटार निकट स्रोतले भन्यो। साथै, पार्टीको न्यूनतम, मूल्य र विधिलाई समेत मिचेको भन्दै बैठकबाट जवाफ दिने भन्दै प्रचण्डले ओलालाई भनेका छन्। ‘अध्यादेशपछि तपाईँले पार्टीको न्यूनतम मूल्य, र विधिलाई समेत मिच्नुभएको छ, बैठकबाट हामी जवाफ दिन्छौ।’ प्रचण्डले ओलीलाई भनेका छन्।