काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चलिरहेका बेला सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने मत राखेका छन्।
अध्यादेशबारे छलफल गर्न नेकपाका शीर्ष नेताहरू अध्यक्ष प्रचण्डको निवासमा खुमलटारमा भेला भएका छन्। शीर्ष नेताहरूको उक्त भेलाले अध्यादेशबारे ठोस धारणा तय गर्ने एक नेताले जानकारी दिए। भेलामा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेकपाका संसदीय दलका नेता सुवास नेम्वाङ पनि सहभागी भएको बताइएको छ।
सरकारले अध्यादेश ल्याएपछि नेता नेम्वाङले पनि असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री ओलीले संविधान र संसदलाई कमजोर पार्ने गरी अध्यादेश ल्याएपछि नेकपाका संसदीय दलका नेता नेम्वाङले असन्तुष्टि जनाएका हुन। स्रोतका अनुसार अध्यक्ष ‘प्रचण्ड’सहितका नेताले अध्यादेशप्रति आपत्ति जनाएपछि नेम्वाङ पनि प्रचण्ड निवास पुगेका छन्।
यता आज दिउँसो नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले अध्यादेश फिर्ताको माग उठाउने सम्भावना बढी छ। एक स्थायी कमिटी सदस्यका अनुसार, अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने निर्णय समेत गर्ने सम्भावना छ। अध्यादेशबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत आपत्ति जनाएको छ।
सरकारले वैशाख ८ मा पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यस बेला दल विभाजन सम्बन्धी अध्यादेशसँगै नेकपामा विवाद सुरु भएको थियो र तीन दिनमै अध्यादेश फिर्ता भएको थियो।



लोकपाटी न्यूज

