काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। आइतबार शोक प्रस्ताव पारित गर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो।
पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन चर्किएको छ।
प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन्। पार्टीमा परामर्श नै नगरी ओलीले ल्याइएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ।
उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष समेत निकालेका छन्।
मङ्सिर २१ गतेको बैठकमा पत्र पठाएर अनुपस्थित रहेका प्रधानमन्त्री ओली २८ गतेको बैठकमा उपस्थित भएका थिए। अध्यादेश ल्याएर एक्लिएका ओली आजको स्थायी कमिटी बैठकमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने सबैको चासोको विषय बनेको छ।



लोकपाटी न्यूज

