लमजुङ। लमजुङ जिल्लाको बेंसिशहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण कार्य अघि बढाईएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ। खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ।
आयोजनाको ईन्जिनियर आशिष शर्माले बेंसिशहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र पूर्ण रुपमा सम्पन्न हुने बताए। भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेंसिशहर बजारसम्म पाईपलाईनमार्फत् वितरण गर्ने योजना अनुसार उक्त आयोजनाको काम सुरु गरिएको हो।
‘आयोजनाका मुख्य मुख्य कामहरु सबै सकिएको छ।’ ईन्जिनियर शर्माले भने, ‘बजार क्षेत्रमा पाईप लाईन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्रे (पिच) हुने कार्य भईरहेको छ। पानी ट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ।’ यस आयोजनाबाट २७ सय घरधुरीमा २४ सै घण्टा खानेपानी वितरण गर्ने तयारी भईरहेको उनले बताए। उक्त आयोजना अन्तर्गत ५ लाख लिटर, ३ लाख लिटर र १ लाख लिटर क्षमताका तीन वटा पानी ट्यांकीको निर्माण सम्पन्न भईसकेको आयोजना कार्यालयले जनाएको छ।
बेसिशहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताए। बेसिशहर नगरपालिका वडा नम्बर ७, ८, ९ र १० का जनतालाई खानेपानी पु(याउने योजना सहित तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजना प्रमुख झाले जानकारी दिए। झाले खानेपानी मन्त्री बिना मगरले आयोजनाको उद्घाटन गर्ने योजना रहेको सुनाए।
यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भईसकेको छ। नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेंसिशहरबासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने उपभोक्ता समितिको भनाइ छ।



लोकपाटी न्यूज

