काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न संसद् बैठक तत्काल बस्न अनिवार्य भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत डा. भट्टराईले विनाशकारी अर्को अध्यादेश अघि नै संसद् अधिवेशन बोलाउन आवश्यक रहेको बताएका छन्।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।
राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेपछि डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिरहेकोले उनलाई रोक आवश्यक रहेको आशय व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो बलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद् अधिवेशन बोलाऊँ।’


लोकपाटी न्यूज

