काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कुत्सित नियत देखिएको बताएका छन्। हतारमा अध्यादेश जारी गरेर संवैधानिक निकायमा आफूअनुकूलका मानिस भर्ने कुत्सित नियत सरकारले देखाएको नेता पौडेलले बताएका छन्।
संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याउनु पनि सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढेको प्रमाण भएको उनले बताए। सामाजिक सञ्जालमार्फत नेता पौडेलले संवैधानिक परिषदको मूल मर्मविपरीत अध्यादेश आएको बताए। उनले संसद् अधिवेशन छल्ने गरी हतारहतार अध्यादेश जारी भएको बताए।
उनले लेखेका छन्, ‘संवैधानिक परिषद्को मूल मर्मविपरीत संवैधानिक निकायमा आफूअनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतारहतारमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु।’
मंगलबार बिहान बालुवाटार पुगेका सभापति देउवाले नयाँ अध्यादेश ल्याउने विषयमा असहमति प्रकट गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा निर्णय गराएर राष्ट्रपतिलाई सिफारिस गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।



लोकपाटी न्यूज

