काठमाडौं। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अधिनायकवादको सिँढी भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत नेता कोइरालाले अध्यादेश तुरुन्त खारेज गर्न माग गरे।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। सरकारको सिफारिसमा अध्यादेश जारी गरिएको भनिए पनि मंगलबार बसेको मन्त्रिपरिषदमा यसबारे छलफल भएको थिएन।
‘संविधानको मर्म र भावना विपरीत ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस्। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो,’ कोइरालाले भनेका छन्।
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रचण्ड पक्षका मानिने सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिषरिषद्को सिफारिसमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।


लोकपाटी न्यूज

