काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै तत्काल खारेजका लागि आग्रह गरेका छन्। प्रचण्डले अध्यादेश जारी भएपछि तत्काल खारेजका लागि आग्रह गरेको स्रोतले बतायो।
प्रचण्ड निकट स्रोतले भन्यो, “अध्यक्षज्यूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउनुभएको छ। त्यसैले असंवैधानिक अध्यादेश तत्काल खारेज हुनुपर्छ।”
सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको बताएका छन्। त्यसैले तत्काल फिर्ता गर्नुको विकल्प नरहेको प्रचण्डको भनाइ छ। संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको अवस्थामा पार्टीलाई कुनै जानकारी र सुइँको समेत नदिएर अध्यादेश ल्याउनुमा कुनियत रहेको बताए।
अध्यक्ष प्रचण्डले अध्यादेश २०६२–६३ को जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनको समेत मर्मविपरित आएको भन्दै खारेज गर्नुपर्ने बताए। प्रचण्ड निकट एक नेताका अनुसार संसदमा रहेका सबै राजनीतिक दलले संसद अधिवेशन माग गरिरहेको र पार्टीमा व्यापक बहस चलिरहेको बेलामा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली यसरी अध्यादेश ल्याउन लाग्नु अत्यन्तै गैर जिम्मेवार मात्र नभई सिंगो लोकतन्त्रमाथिको प्रहार भएको बताए।
बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् ।


लोकपाटी न्यूज

