ओलीले मागे प्रमुख सचेतक देव गुरुङको राजीनामा

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन्। २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङ पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग राजीनामा गर्न निर्देशन दिएका हुन्। तर आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफका साथ गुरुङले प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेका बुझिएको छ।

गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए। गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको बताएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन्। तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन्।