काठमाडौं। नेकपा केन्द्रीय सदस्य तथा वागमतीका प्रदेश सांसद रचना खड्काले मदन भण्डारीलाई कुनै गुटको नेता बनाउन नहुने बताएकी छन्। तर अहिले नेता भण्डारीलाई केही निश्चित मान्छेहरूको पेवा बनाउन खोजिरहेको सांसद खड्काले बताइन्। नेपाली कम्युनिस्ट आन्दोलनलाई जडताबाट जुरुक्क उचाल्ने नेता मदन भण्डारीलाई गुटको नेताको रूपमा प्रचार गरिनु अमान हुने उनको भनाई थियो।
उनले भनेकी छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई जडताबाट जुरुक्क उचाल्ने सन्दर्भमा मदनलाई सबैले सम्मान गर्छन्। मदन भण्डारी हामी सबैको मन मुटुमा बसेको नेता हो। मदन भण्डारीलाई कुनै एउटा गुट, समूह र निश्चित मान्छेहरूको पेवा बनाइरहेका छन्। तर आदरणीय नेतालाई कसैको व्यक्तिगत पेवा बनाउने कुरा ठिक होइन। सो अब बन्द गरिनुपर्छ। मदन भण्डारीको परम अनुयायी र प्रशंसकजस्तो देखिने तर जबजको अन्तर्यलाई आफूलाई जस्तो मन लाग्यो, त्यस्तै बुझ्ने कुराले पनि पार्टी विवादलाई मलजल गरेको छ।’
उनले जबजको अन्तर्यलाई आफूलाई जस्तो मन लाग्यो, त्यस्तै बुझ्ने कुराले पार्टी विवादलाई मलजल गरेको पनि बताइन्। उनले अगाडि भनिन्, ‘पार्टीभित्रको आन्तरिक जनवाद र प्रतिस्पर्धालाई त हामी यो हिसाबले बुझ्छौं भने हामीले मदनको जबजलाई कहाँ मान्यौ? कति बुझ्यौं? मदनलाई पेवा बनाएपछि त पार्टी विभाजन गरे पनि हुन्छ र मदन भण्डारीको नाम जपेपछि जेजे गरे पनि हुन्छ भन्ने कुरालाई अब हामीले परास्त गर्नुपर्छ।’
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा पुस्तान्तरणको पक्षमा नरहेको खड्काले प्रस्ट्याइन। यदि पुस्तान्तरणको पक्षमा रहेको भए तत्कालीन एमालेको नवौं महाधिवेशनको विधानमा गरिएको उमेर हदको व्यवस्था ओलीले हटाउन नहुने उनको तर्क छ। उनले भनिन्, पुस्तान्तरणको विषयमा उहाँ संवेदनशील र सकारात्मक हुनुहुन्छ भने तत्कालीन नेकपाको नवौं महाधिवेशनको विधानमा हामीले ७० कटेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिने भनेर उमेर हद राखेका थियौँ। दुई पार्टीको एकीकरण हुँदै गर्दा यदि उहाँ पुस्तान्तरणप्रति यति धेरै सकारात्मक हुनुहुन्थ्यो भने हामीले राखेको त्यो व्यवस्था किन हटाइयो?’
एउटा पुस्तादेखि अर्को पुस्तासँग कति अन्तर हुन्छ भनी उनले प्रश्न गरिन्, ‘६५ या ६७ वर्षको मान्छे छाडेर ६० वर्षको मान्छे ल्याउने कुरा पुस्तान्तरण हो ? ६० वर्षको मान्छे छाडेर ५९ को मान्छे ल्याउने कुरा पुस्तान्तरण हो?’


लोकपाटी न्यूज

