काठमाडौं। विश्लेषक खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीमा कुनै राजनीतिक कार्यदिशा नदेखिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत संग्रौलाले फुटपछि पुन जुटेको विवेकशील साझा पार्टी सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्ने सम्भावना नभएको पनि बताए।
उनले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्मी हिरो र संयोजक मिलन पाण्डेलाई शिक्षक बन्नमै हित हुने सुझावसमेत दिए। सँग्रौलाले लेखेका छन्, ‘विवेकशील साझा पार्टीको न कुनै दार्शनिक मान्यता देखियो न मूर्त राजनीतिक कार्यदिशा। यस्तो दिग्शून्य र सुखवादी सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्न असम्भव छ, मान्यवर। प्रवृत्ति र अभिरुचिका दृष्टिले त रवीन्द्र मिश्र फिल्मी हिरो र मिलन पाण्डे शिक्षक हुनुमा पो कल्याण छ, ब्रोज्!’
दुई पार्टीबीच मङ्सिर २४ मा एकता भएको छ। एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ राखिएको छ। एकतापछि पार्टीको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन्। एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय कमिटी बनाइएको छ।


लोकपाटी न्यूज

