काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणलाई लिएर नेकपाभित्र थप सन्देह उत्पन्न भएको छ। नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुन्। नेता नेपाललाई जानकारी नदिई चौथाइवालेलाई नेपाल भ्रमणमा निमन्त्रणा गरिएको छ।
भ्रमणका क्रममा चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वसभामुख सुवास नेम्वाङसँग मात्र भेट गरेका छन्। यता सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेश विभाग प्रमुख नेपालसँग चौथाइवालेले भेट गर्न आवश्यक समेत ठानेको देखिएन। सोही विषयलाई लिएर अहिले नेकपाभित्र विरोध भइरहेको छ।
नेकपाका नेता डा. भीम रावलले भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा वार्ता गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश, पार्टी र पदको गरिमाको रक्षा होस्।’
नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले पनि प्रधानमन्त्री ओलीको उक्त कामको विरोध जनाएका छन्। उनले पार्टी विदेश विभागले गर्ने काम पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीबाट हुनु अनुचित भएको तर्क उनको छ। रिजालले सामाजिक सञ्जालमार्फत यदि पार्टी अध्यक्ष भन्दा विदेश विभाग महत्त्वपूर्ण लागे उक्त पद नै सम्हाल्न ओलीलाई सुझाव दिए।
उनले लेखेका छन्, ‘यदि यो विभाग अरू कुनै नेतालाई महत्त्वपूर्ण लाग्छ भने त्यही नेताले राखे पनि हुन्छ। तर एउटा विभागको काम पनि अर्कैले गर्ने हो भने त्यो विभागका मान्छेका काम त विरोध गर्नु बाहेक के बाँकी रहन्छ?’ भाजपाका विदेश विभाग प्रमुख चौथावाइलेले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेका थिए। भेटमा अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलसमेत सहभागी थिए। चौथावाइले पौडेलकै निम्तामा काठमाडौँ आएको बताइएको छ। नेकपा विदेश विभाग प्रमुख नेता नेपालको सट्टामा पौडेलले भाजपाका विदेश विभाग प्रमुखलाई किन बोलाए ? यसको जवाफ दिइएको छैन।
चौथाइवाले भाजपाका प्रभावशाली नेताका साथै मोदीका विश्वासपात्र मानिन्छन्। सत्तारुढ नेकपा आन्तरिक विवादले फुटनजिक पुगेका बेला भारतीय सत्तारूढ दलका नेताको भेटघाटको शृंखलालाइ अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपाको संस्थापन पक्षले भने राजनीतिक तहमा सम्पर्क र संवाद बढेको रूपमा अर्थ्याएको छ। प्रधानमन्त्री ओलीले यसअघि पनि कात्तिक ५ मा भारतीय गुप्तचर रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेका थिए। उक्त भेटलाई लिएर नेकपाभित्रै विवाद छ।


लोकपाटी न्यूज

