बौद्ध विश्वविद्यालय बेरुजु फछ्र्यौटमा उत्कृष्ट

LBU pic
लुम्बिनी बौद्ध विश्वविद्यालय
लोकपाटी न्यूज

बुटवल। रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएको छ। मुलुकका आठ विश्वविद्यालयलाई उछिन्दै बौद्ध विश्वविद्यालय उत्कृष्ट भएको हो।

बेरुजु फछ्र्यौटमा उत्कृष्ट हुने सार्वजनिक निकायलाई बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कार प्रदान गर्छ। यो समितिको संयोजक मुख्य सचिव रहन्छन्। मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यलाई पुरस्कृत गरेका छन्।

बौद्ध विश्वविद्यालयले अघिल्लो आर्थिक वर्षमा समेत उत्कृटता हासिल गरेको थियो। यो लगातार दोस्रो पटक उत्कृष्ट भएको हो। विश्वविद्यालयको पुरानो बेरुजु रकम १३ लाखको हाराहारीमा रहेको छ। अघिल्लो आर्थिक वर्ष महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणमा बौद्ध विश्वविद्यालयको बेरुजु र पुरानो फछ्र्याैट मापदण्डभित्र नै कायम भएपछि उत्कृष्ट ठहरिएको हो। बेरुजु फछ्र्याैट मुल्यांकन तथा अनुगमन समितिको मापदण्ड अनुसार पुरानो बेरुजु ८० प्रतिशतभन्दा धेरै फछ्र्याैट गर्ने र नयाँ लेखापरीक्षणमा १ दशमलवभन्दा कम बेरुजु हुनुलाई उत्कृष्ट मानिन्छ। बौद्ध विश्वविद्यालयले गत असार मसान्तसम्म अघिल्ला आर्थिक वर्षको ८० दशमलव शुन्य ५ प्रतिशत बेरुजु फस्र्याैट गरेको छ। आर्थिक वर्ष ०७५/०७६ मा बेरुजु शुन्य दशमलव ३५ प्रतिशत मात्रै रहेको छ।

आर्थिक वर्ष ०७५/०७६ मा ४५ करोड १७ लाखको लेखापरीक्षण सम्पन्न भएको थियो । त्योमध्ये १५ लाख ७६ हजार बेरुजु निस्किएको छ। सो बेरुजु कागजात संकलन गर्न बाकी भएको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए। ‘हामीले बेरुजु शुन्य बनाउने योजनाका साथ काम गरिरहेका छौं, उनले भने,–‘पुरानो सबै फछ्र्याैट र नयाँमा शुन्य बेरुजु कायम गरी विश्वविद्यालयलाई आर्थिक सुशासनमा राखिनेछ।’

बेरुजु फछ्र्याैटमा उत्कृष्ट भएपछि बेरुजु फछ्र्याैट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कार प्रदान गर्दछ। विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई मुख्य सचिव एवं समितिका संयोजक बैरागीले १० हजार नगद पुरस्कार प्रदान गरेका छन्। बेरुजु फछ्र्याैटका बखत कार्यरत प्रशासकीय प्रमुख र लेखा शाखाका कर्मचारीलाई पुरस्कार प्रदान गरिन्छ।

बेरुजु फछ्र्याैट मुल्यांकन तथा अनुगमन समितिको प्रतिवेदन अनुसार बेरुजुमध्ये फछ्र्याैट गर्नेमा बौद्ध विश्वविद्यालय ७८ दशमलव ०३ प्रतिशतसहित पहिलो नम्बरमा छ। कृषि तथा वनले १४ प्रतिशत, त्रिभुवनको साढे ११ प्रतिशत, नेपाल संस्कृतको साढे ६ प्रतिशत मात्रै बेरुजु फछ्र्याैट भएको छ। त्रिभुवन विश्वविद्यालयमा अहिलेसम्म बेरुजुको रकम १५ अर्वको हाराहारीमा छ। नेपाल संस्कृतको ३१ करोड, मध्यपश्चिमाञ्चलको २३ करोड र पोखरा विश्वविद्यालयको २० करोडभन्दा धेरै रकम बेरुजु छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्