केपी ओलीले कोही रोएको देखे पनि आफ्नो विरोधि ठान्छन्ः देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध आज देशव्यापी रूपमा जनमत प्रकट भएको बताएका छन्। देउवाले हेटौँडामा आयोजित सभामा केपी ओलीले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेकोले त्यसविरुद्ध काँग्रेस सडकमा उत्रिएको बताएका हुन्।

‘केपी ओली नेतृत्वको सरकारले एक दललाई मात्र माथि राखेर सर्वसत्तावाद लादिरहेको छ,’ उनले भने, ‘ओलीको नेतृत्व निरंकुश शासन पद्धतिमा अघि बढेको कारणका कोरोना महामारीबीच काँग्रेस सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको हो।’ देउवाले ओली सरकारले देशलाई सबैतर्फबाट मारमा पारेको र एकलौटी शासन सत्ता अंगालेको आरोप लगाए।

जनतालाई दुःख दिने र सडकमै आन्दोलन गर्ने नियत नभए पनि कम्युनिस्ट सरकारले काँग्रेसलाई यस्तो अवस्थासम्म आउन बाध्य पारेको उनले बताए। देउवाले भने, ‘मैले कम्युनिस्ट पार्टी एक हुँदाखेरि भनेको थिएँ, कम्युनिस्टहरुले जितेपछि बोल्न पाइने छैन। हाँस्न पाइने छैन। रुन पनि पाइनेछैन भनेको थिएँ मैले। आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन। रुन थाल्यो भने पक्रेर लैजान्छ। चाहे कोरोनाले रोओस् वा जुनसुकै कारणले रोओस्। यहाँ रुनु पनि आफ्नो खिलाफमा लाग्छ ओलीलाई। त्यस्तो किसिमको अवस्था छ आज।’

उनले ओली सरकारका कारण जनता आजित भइसकेको र कोरोना महामारीका वेला जनतालाई निःशुल्क उपचार र औषधिसमेत व्यवस्था गर्न नसकेको भन्दै आक्रोश पोखे। देउवाले भने, ‘मैले ओलीलाई भनेको थिएँ, कोरोना सङ्क्रमण रोक्नका लागि तपाईँलाई हाम्रो विनाशर्त सहयोग रहन्छ। हामीले हाम्रो तलबको पनि आधा भाग दियौं । दसैँ खर्च पनि हामीले सरकारलाई बुझायौं। कम्युनिस्ट माननीयहरूले दिन बाध्य भए। मैले भनेको थिएँ कोरोनासँगको लडाइँमा हाम्रो पूरा पूरा साथ रहन्छ। तर, उनीहरूले त कोरोनामा पनि घुस खाने काम गरिरहेका छन्।’

उनले कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरू सल्बलाएको दाबी गर्दै लोकतन्त्रमा राजा आऊ, देश बचाऊ नारा सडकमा गुञ्जिनुमा ओली सरकारको कमजोरी रहेको बताए। अहिलेको व्यवस्थाविरुद्ध राजावादीहरू सडकमा उत्रिनुमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवार रहेको उनले जिकिर गरे। देउवाले भने, ‘अहिले राजा आऊ, देश बचाऊ भनेर हिँड्दै छन्। यसमा पनि बोल्नुपर्ने मैले आवश्यक ठानेको छु। किन राजा आऊ देश बचाऊ भनिँदैछ ? तपाईहरु एउटा कुरा सुन्नोस् है, राजालाई मैले भनेको थिएँ, सरकार प्रजातन्त्रको खिलाफमा कुनै हालतमा जान्नँ। अरू केके सहयोग गर्नुपर्ने हो तयार छु, तर प्रजातन्त्रको खिलाफमा जान्न भन्दा मलाई थुनेर राख्दियो।’