केपी समूह चोरहरुको समूह हो, हामी साधु हौं, हामीसँग तुलना हुन सक्दैन : माधव नेपाल

madhav-nepal
लोकपाटी न्यूज

काठमाडौं, २९ मंसीर। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीनिकटको समूह चोरहरुको समूह भएको आरोप लगाएका छन्। आइतबार बेलुका हिमालय टेलिभिजनमा एक घण्टा लामो अन्तर्वार्ता दिँदै नेपालले उक्त समूहमा कुनै नैतिकता नभएको बताएका हुन्।

अन्तर्वार्ताका क्रममा नेपालले भने, ‘‘माथिदेखि तलसम्म गैरकम्युनिस्ट आचरण पढाइएको छ। त्यो समूह चोरहरुको समूह हो। त्यहाँ सिद्धान्तको कुनै छलफल हुँदैन, नैतिकताको कुनै कुरा हुँदैन। माथिदेखि तलसम्म तिनीहरुले लेखेका कुराहरु हेर्नुस्, त्यहाँ कुनै नैतिकता, बौद्धिकता देखिँदैन। हामी साधुहरुको समूह हौं। न्याय र अन्यायको तुलना हुन्छ ? चोर र साधुहरुको तुलना हुँदैन। यो सिद्धान्त र सिद्धान्तहिनताको बहस हो। यसरी हेर्नुपर्छ। दुवैको तुलना हुँदैन।’’

नेपालले आफूहरु सधैं विधि र पद्धतिको पक्षमा रहेको बताए। उनले भने, ‘‘व्यक्तिको स्वार्थका लागि पार्टी सती जान सक्दैन। बरु, पार्टीका अगाडि व्यक्तिको बलिदान हुन्छ। संविधानभन्दा माथि देशको कुनै व्यक्ति हुँदैन। पार्टीको विधानभन्दा माथि पार्टीको कुनै नेता कार्यकर्ता हुँदैन, हुन सक्दैन।’’

नेपालले आफूले ओलीलाई पटकपटक उपप्रधानमन्त्री र मन्त्री बनाएको दावी गरे। उनले भने, ‘‘उहाँलाई मैले पटकपटक मन्त्री बनाएको छु। उपप्रधानमन्त्री बनाएको छु। उहाँले गणतन्त्रको विरोध गर्दा पनि हामीले निषेध गरेनौं। हामी व्यक्तिको योग्यता र योगदानअनुसार जिम्मेवारी दिन्छौं।’’

नेपालमा राजतन्त्रको पुनर्स्थापना सम्भव नभएको बताए। ‘इतिहासको पांग्रा कहिल्यै पनि पछाडि फर्किन सक्दैन। अहिले अफगानिस्तानका राजाले राजतन्त्र चाहियो भनेर हुन्छ ?’ इतिहासलाई पछाडि फर्काउने सपना पूरा हुँदैन। पूरा हुन दिइँदैन’’ उनले भने, ‘‘पूर्वराजालाई पनि नागरिकको अधिकार छ। सरकारले राम्रो काम गरेर असन्तुष्टिहरुलाई सम्वोधन गर्नुपर्छ।’’

नेपालले आफूहरुको लडाइँ पदको नभएको बताए। ‘‘हामी समाजवादको पक्षमा छौं, समाजवादप्रति इमान्दार भएर काम गर्न चाहन्छौं। यो लडाइँ पदको लडाइँ होइन, सिद्धान्तको लडाइँ हो’’ उनले थपे, ‘‘ओलीजीले त्याग गरेर त्यो बाटो खुला गर्नुपर्छ, अन्यथा पार्टी विधानअनुसार अघि बढ्छ।’’

https://www.facebook.com/HimalayaTV/videos/2839753416354584