काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले अध्यादेश तत्काल फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। नेकपाका बहुमत सचिवालय सदस्यले सरकारले अध्यादेश ल्याउनु आपत्तिजनक भएको निश्कर्ष समेत निकालेका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा मंगलबार बसेको बहुमत सचिवालय सदस्यको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्रीको निर्णयलाई पार्टीले गम्भीर रूपमा लिएको निश्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक हिसावले अनुचित रहेको नेकपाका बहुमत सचिवालय सदस्यले बताए।
‘प्रधानमन्त्रीजीले ल्याएको अध्यादेश नयाँ होइन। वैशाखमा ल्याएको पुरानै अध्यादेश फेरी ल्याउनु भएछ,’ ती सचिवालय सदस्यले भने, ‘अध्यादेश ल्याउँदा कुनै छलफल परामर्श नै नगरी ल्याउँनु भएको छ। त्यो अध्यादेश तत्काल फिर्ता हुनुपर्छ। यस विषयमा भोलि स्थायी कमिटीमा पनि छलफल हुन्छ। फिर्ता नलिए पार्टी कमिटीले निर्णय गरेर अघि बढ्छ।’
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए। ओलीले बैठक स्थगित गर्न खोजे पनि अध्यादेशका विषयमा छलफल गरेरै छाड्ने निष्कर्ष उनीहरुले निकालेका छन्। प्रधानमन्त्रीले पार्टीमा कुनै परामर्श नगरी एकलौटी ढंगले अघि बढेकाले त्यसका विरुद्ध एकजुट हुने उनीहरूको तयारी छ।
‘मैले पार्टी एकता जोगाउन निक्कै प्रयत्न गरेको छु। धेरै कम्परमाइज गरेको छु,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘यसअघिको विवाद कायमै छ। फेरि अध्यादेश ल्याएर विवाद निम्त्याउनु भयो।’ पार्टी विभाजन गर्न ओली एकपछि अर्को गर्दै उद्धृत रहेको प्रचण्ड नेपालको निष्कर्ष छ।



लोकपाटी न्यूज

