काभ्रेपलाञ्चोक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको छ। काभ्रेपलाञ्चोकमा एक साताअघि आयोजित दुई पार्टी प्रवेश कार्यक्रममा विप्लवका १४५ नेताकार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन्। दुवै कार्यक्रममा नेकपामा नवप्रवेशीलाई नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए।
गत साता दुई दिनका फरकमा सदरमुकाम धुलिखेल र बनेपामा दुई कार्यक्रम भएका थिए। धुलिखेलको कार्यक्रममा ७५ र बनेपाको कार्यक्रममा ७० नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्। दुई कार्यक्रमका नवप्रवेशीमा धुलिखेल नगरपालिका-१० निवासी ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष भनिएका कान्छा तामाङ, खानीखोला गाउँपालिका-५ निवासी जिल्ला सचिवालय सदस्य, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भनिएका रमेश नेपाली, जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी संघका जिल्लाध्यक्ष भनिएकी सम्झना परियार, पूर्वी ब्युरो सदस्य भनिएका रामकुमार तामाङलगायत पार्टीका जनवर्गीय संगठनका नेताकार्यकर्ता थिए।
कान्छा तामाङका अनुसार विप्लव नेकपाका काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ मात्रै सदस्य रहेको र जनवर्गीय संगठनसहित करिब १०० को हाराहारीमा नेताकार्यकर्ता छन्। उनीहरुमध्ये केहीलाई नेकपामा प्रवेश गराउने प्रक्रिया थालिएको उनले जानकारी दिए। पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले हालको ‘क्रान्ति’ बेअर्थ लागेर सबै जिल्लाबाट नेताकार्यकर्ता नेकपामा प्रवेश गरिरहेकाले विप्लवलाई पनि नेकपामा समाहित हुन आग्रहसमेत गर्दै आएका छन्।
नेकपाका काभ्रेपलाञ्चोक इञ्चार्ज बाँस्कोटा केही महिनायता विभिन्न पार्टीका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउन सक्रिय छन्। उनले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाई काभ्रेपलाञ्चोकमा अभियानकै रुपमा सञ्चालन गर्दै आएका छन्। उनको पार्टी प्रवेश गराउने श्रृङ्खला गत साउन महिनादेखि शुरु भएको हो।
नेकपा केन्द्रीय सदस्य बाँस्कोटाले गत साउनमा पनौती नगरस्थित बल्थलीमा नेपाली काँग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४ नेताकार्यकर्तालाई नेकपामा प्रवेश गराए। उनले गत असोज ६ गते पनौतीमै कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने २५ नेताकार्यकर्तालाई सदस्यता प्रदान गरेका थिए।
बाँस्कोटाले गत असोज २६ गते आफ्नै गृहनगर मण्डनदेउपुरका ३५ भन्दा बढी विभिन्न पार्टीका नगरस्तरीय नेताकार्यकर्तालाई नेकपामा प्रवेश गराए। यसलगत्तै बाँस्कोटाकै सक्रियतामा कात्तिक ६ गते पनौती नगरका कांग्रेसका ४१ नेताकार्यकर्ता नेकपामा प्रवेश गरे। सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को महाभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेश गराएको प्रतिनिधिसभा सदस्य बाँस्कोटाले बताए।
‘पार्टी प्रवेश गराउने काममा निरन्तर लाग्नेछु। केही नेताकार्यकर्ता विकास-क्रान्ति देखेर, केही मुलुक समृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेका हुन्,’ उनले जिकिर गरे। उनको सक्रियतामा हालसम्म दोस्रो ठूलो दल कांग्रेसलगायत विभिन्न दलबाट ४०० भन्दा बढी नेकपामा प्रवेश गरिसकेका छन्। बाँस्कोटाका अनुसार अभियानकैरुपमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा क्रमशः पार्टी प्रवेश कार्यक्रम आयोजना हुनेछन्। -रासस



लोकपाटी न्यूज

