अध्यक्ष प्रचण्ड पार्टी एकताको पक्षमा गम्भीर हुनुहुन्छः नेम्वाङ

subash_newang_7
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताको पक्षमा गम्भीर भएको बताएका छन्। संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।

स्थायी कमिटी बैठक अघि प्रचण्डसँग आधा घण्टा छलफल गरेका नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि बताएका थिए। उनले पार्टीमा उत्पन्न विवादलाई लिएर ओली पनि चिन्तित रहेको सन्देश दिएका थिए। भेटपछि नेम्वाङले अध्यक्ष प्रचण्ड पार्टी एकताको पक्षमा गम्भीर रहेको पाएको प्रतिक्रिया दिएका छन्।

‘उहाँले पार्टी एकताका पक्षमा आफ्नो तर्फबाट जे-जति पहल गर्नुपर्ने हो त्यसमा सकारात्मक छु। तपाईँले पनि आफ्नोतर्फबाट भूमिका खेल्नु पर्‍यो भन्नुभयो,’ नेम्वाङले भने, ‘पार्टी एकताको पक्षमा जहिल्यै उभिँदै आएको छु, अब पनि त्यसमा आफ्नोतर्फबाट भूमिका खेल्न तयार छु भन्नुभयो।’

ओली निकट नेताहरूले नयाँ समझदारी गर्न प्रचण्डलाई फकाई रहेका छन्। शनिवार दिउँसो स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रचण्डलाई भेटेका थिए।