नारायणकाजी श्रेष्ठविरुद्ध अनर्गल प्रचार नगरौंः प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक-प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सांसद एवं पूर्वराजदूत लामाको कोरोना संक्रमणका कारण विहीवार निधन भएको थियो। बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामाको निधन पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गासिएर आएको विषयमा बैठकमा ब्रिफिङ गरेका थिए। प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताए।

उनले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन्। यसअघि नै श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफूले प्रयास मात्रै गरेको बताएका थिए।

आइतबारको बैठकमा प्रचण्डले श्रेष्ठको चरित्र हत्या हुने गरि भएका प्रचारको निन्दा गरे। त्यसविषयमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने केही बोलेनन्। नेकपाका नेताहरु लामाको व्यवसायिक गतिविधिमा प्रवक्ता श्रेष्ठको नाम जोडिएको विषयमा विभाजित छन्।