काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशले लोकतन्त्रको उपहास गरेको बताएका छन्। मङ्गलवार साँझ प्रशारित बिबिसी नेपालीमा प्रचण्डले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल फिर्ता हुनुपर्ने पनि बताएका हुन्।
नियोजित रूपमा ल्याइएको अध्यादेशले संसदलाई ‘मिनिमाइज’ गर्दै प्रधानमन्त्रीको निरंकुशतातिर जाने कुराको सङ्केत भएको पनि उनले बताए। तीन वर्षदेखि रोकिएका नियुक्तिहरूमा संसद् अधिवेशन बस्ने बेलामा हठात्, हतार र नियोजित रूपमा ल्याइएको अध्यादेश खारेज हुनुपर्ने प्रचण्डले बताए।
‘प्रधानमन्त्री केही समययता पार्टी विभाजनको बाटोतिर गइराख्नुभएको थियो’, उनले भने, ‘यो कदमले दुरी झनै बढाएको छ।’ प्रचण्डले बुधवार बस्ने स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको कदमको समीक्षा गर्ने बताए। उनले आफूलाई अध्यादेश ल्याउनेबारे कुनै जानकारी नगराइएको बताए।
प्रधानमन्त्री ओलीको विभाजनकारी मानसिकतालाई अध्यादेशले पुष्टि गरेको प्रचण्डको भनाइ छ। अध्यादेश ल्याएर संसदलाई अपमानित गर्ने काम भएको उनले प्रधानमन्त्री ओलीमाथि आरोप लगाए। प्रचण्डले संसदलाई नै समस्या समाधानको थलो बनाउनुपर्ने बताए।



लोकपाटी न्यूज

