समाजवाद निर्माणकाे कार्यभारप्रति इमान्दार हाेऔं : प्रचण्ड

Prachanda Photo
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टी कै काँधमा भएको। नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर शाहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यहि समाजवाद तिरको यात्राका लागि हुन्। समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन्।’

अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत् देशमा आर्थिक विकासको नयाँ यात्रा तिर आफूहरु अगाडि बढेको बताए। प्रचण्डले भने, ‘यो बेला पक्कै पनि चुनौतिहरु आउँछन्। ती समस्या र चुनौतिको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै छ। कम्युनिष्ट पार्टीले आफैं भित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवाद तिर लाग्नेछौं।’

उनले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए।