विप्लवले जनयुद्धको भद्दा नक्कल गर्न खोजेः डा. भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई गलत नीति त्याग्न आग्रह गरेका छन्। विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने डा. भट्टराईको भनाई छ।

उनले व्यक्ति हत्यामा उत्रिएको विप्लव नेकपाले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाए। मोरङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भइरहेको छ। सोही सन्दर्भमा भट्टराईले वार्ताको कुरा उठाएका छन्। २३ मंसिरमा विप्लव नेतृत्वको नेकपाले मिक्लाजुङ गाउँपालिकाका-१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो।

सामाजिक सञ्जालमार्फत भट्टराईले चन्द समूहको आन्दोलनलाई नीति कथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको उदाहरण दिएर व्यङ्ग्यसमेत गरेका छन्। उनले लेखेका छन् ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्‍याइरहेछ। चन्द समूहले गलत नीति त्यागोस् राज्यले सार्थक वार्ता गरोस्।’

शिक्षकको हत्या प्रकरणबारे विप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीको सुराकी गरेकाले हत्या गरिएको जिकिर गरेको छ।