नेकपा फुटाउन तयारी भइरहेको छः गोकुल बाँस्कोटा

Gokul Baskota
लोकपाटी न्यूज

काभ्रेपलाञ्चोक। पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गरेका छन्। बनेपामा आयोजित एक कार्यक्रममा उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए।

‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्,’ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने, ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएर भित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन।’

आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो।