काठमाडौं, २६ मंसीर। पश्चिमा जगतमा जस्तै नेपालीहरु जन्मदिनको अवसरमा केक काट्ने, बत्ती बाल्ने, चुच्चे टोपी लगाउने गर्न थालेका छन्। यो नेपाली संस्कार नभए पनि पछिल्लो समय नेपाली समाजमा आम संस्कारका रुपमा स्थापित हुँदै गएको छ।
गत मंसीर २० गते बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा पार्टी महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिन केक काटेर मनाइएको थियो। सचिवालय बैठकका लागि गएका नेताहरु महासचिव पौडेललाई शुभकामना दिएर बैठकको आरम्भ गरेका थिए। तर, बैठक भने सुखद हुन सकेन। नेताहरुबिचको माथापच्चीले त्यस दिन पनि निरन्तरता पायो।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनबारे त आजपर्यन्त बहस चलिरहेको छ। यस वर्ष प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो पुर्ख्यौली घर तेह्रथुम मात्र गएनन्, भव्य समारोह गरेर जन्मदिन मनाए। हेलिकोप्टरबाट केक ओसारेको, राजषी ठाँटमा जन्मदिन मनाएको भन्दै ओलीको आलोचना मात्र भएन। केकमा नेपालको नक्शा राखेर काटिएको भन्दै उनको चर्को आलोचना भयो।
नेकपाका अधिकांश नेता–कार्यकर्ताहरु आजभोलि भद्दा पश्चिमी संस्कृतिमा रमाउँदै गएका छन्। भौतिकवादमा विश्वास गर्ने नेताहरु आजभोलि कोही ईश्वर, कोही प्रभु, कोही परम्परा, कोही समाजको माग भन्दै प्रत्ययवादको शरणमा पुगेका छन्। उनीहरुका गतिविधि हेर्दा कम्युनिस्ट र गैरकम्युनिस्ट छुट्याउन हम्मेहम्मे पर्न थालेको छ। तर, नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्ड, मोहन वैद्य, चित्रबहादुर श्रेष्ठ लगायतका नेताहरु यस मामिलामा अपवादका रुपमा देखिएका छन्।
शुक्रबार जन्मदिनका अवसरमा नेकपाका अध्यक्ष प्रचण्डले कुनै औपचारिक कार्यक्रम गरेनन्। उनले अरु नेताले जस्तो केक काट्ने, तडकभडक गर्ने कुनै कार्यक्रम राखेनन्। दिनभरि निजी निवास खुमलटारमा रहेका उनले शुभेच्छुकहरुबाट शुभकामना लिए र आफ्नो सुस्वास्थ्य र प्रगतिको कामनाका लागि धन्यवाद दिए। उनले आम कार्यकर्ता र जनताको अपेक्षाअनुसार नै जन्मदिनलाई सामान्य तर राष्ट्रका निम्ति केही गर्ने संकल्पसहित मनाएका छन्।
उनी जन्मदिनमा पनि नेकपाभित्र विद्यमान संकट समाधानका लागि सक्रिय रहे। जारी स्थायी समिति बैठकलाई परिणाममुखी बनाउन उनले शुक्रबार पनि पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासँग सम्वाद जारी राखे। प्रचण्डले जन्मदिनमार्फत् एउटा कम्युनिस्ट हमेशा देश र जनताको भविष्यका लागि दत्तचित्त हुनुपर्ने सन्देश दिएका छन्।
केक काटेर जन्मदिन मनाउने नेपाली संस्कार होइनन्। अझ क्रिश्चियन टोपी लगाएर जन्मदिन मनाउनु त कम्युनिस्टहरुका लागि शोभनीय होइन। तर, नेकपाका अधिकांश नेता–कार्यकर्तामा निम्न पुँजीवादी उपभोक्तावादको रोग सल्किएको छ। जन्मदिनलाई प्रेरणादायी बनाउन सामान्य तर संकल्पयुक्त काम गर्न प्रचण्डको जन्मदिन प्रेरणादायी हुन सक्छ।



लोकपाटी न्यूज

