काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत पक्षधरहरूले पार्टीलाई विधि र प्रक्रियाबाटै अगाडि बढाउने भन्दै त्यसभन्दा अलग कुनै सम्झौता नहुने स्पष्ट गरेका छन्। उनीहरूले पार्टीका विभिन्न तहका भेला, बैठक, अन्तरक्रिया राखेर पार्टीभित्र जारी विवाद प्रस्ट्याउन थालेका हुन्।
यसै क्रममा बिहीबार वागमती प्रदेशस्तरीय भेलाको आयोजना गरेका छन्। भेलामा प्रदेशका १४ जिल्लाका इन्चार्ज, सहइन्चार्जहरू, अध्यक्ष र सचिवहरूको उपस्थिति रहेको थियो। भेलालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेको काठमाडौंका जिल्ला पार्टी सचिव हिमाल शर्माले जानकारी दिए।
भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले अनेकौंपटक अपमान सहेर भए पनि पार्टी एकतालाई जोगाउँदै, बचाउँदै आएको बताएको शर्माको भनाइ छ। अहिले पनि पार्टी एकता बचाउन हदैसम्म कोसिस गरिरहेका बताउँदै ओलीले फुटको सबै तयारी पूरा गरिसकेको बताएका थिए। ओलीको चाहना पार्टी फुटमै जाओस् भन्ने रहेको प्रचण्डको प्रस्टोक्ति थियो।
“अपमान सहेर भए पनि एकता जोगाउनुपर्छ भन्नेमा हामी छौं। मैले प्रयत्न गरिराखेकै छु,” प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले भने, “अहिले पनि हाम्रो कोसिस पार्टी एकताकै लागि छ। स्थायी कमिटी बैठकले पनि त्यही कोसिस गरिरहेको छ। अन्तिमसम्म एकता बचाउन नै प्रयत्न रहेनछ। तर, हाम्रो मात्रै कोसिसले एकता जोगिने होइन, उता प्रधानमन्त्री (ओली पक्षतिर) बाट त प्रयत्न त भइराखेकै छ।”
भेलामा प्रचण्डले अहिलेको विवादलाई सैद्धान्तिकीकरण गर्ने प्रयत्न गरेका थिए। अहिलेको लडाइँ समाजवादको आधार तयार गर्ने कि पुँजीवादतिरै फर्कने भन्ने भएको बताउँदै ओली पछाडि हट्न चाहेको आरोपित गरेका थिए। यसलाई पदको लडाइँका रूपमा मात्रै नबुझ्न आग्रह गरेका थिए।
सचिवालय हुँदै स्थायी कमिटीमा पेस गरिएको दस्तावेजमै अडिँदै प्रचण्डले भेलामा भनेको शर्मा उद्धृत गर्छन्, “प्रधानमन्त्री ओलीलाई समाजवादमा जान मन छैन। उहाँ पछाडि फर्कने, दलाल पुँजीवादलाई संरक्षण गर्ने प्रयत्न गरिराख्नुभएको छ। अतः हाम्रो अहिलेको अन्तरविरोध फगत पदको लडाइँ होइन। सैद्धान्तिक अन्तरविरोध नै हो।”
वरिष्ठ नेता नेपालले कुनै हालतमा सचिवालय हुँदै स्थायी कमिटीमा पेस भएको राजनीतिक दस्तावेजहरू फिर्ता नहुने अडान लिए। उनले प्रस्तावलाई आरोपपत्र भन्ने प्रयत्न भइराखेको बताउँदै प्रचण्डले प्रस्तुत गरेको दस्तावेज साझा प्रतिवेदन भएको जिकिर गरेका थिए।
“प्रचण्डले अघि सार्नुभएको दस्तावेजलाई आरोपपत्र भन्ने कोसिस भइरहेको छ। त्यो प्रस्ताव हो। साझा प्रस्ताव हो,” नेता नेपालको भनाइ उद्धृत गर्दै शर्माले बाह्रखरीसँग भने, “त्यो प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन। त्यसलाई तलतल बहसका रूपमा लैजानुपर्छ। आम कार्यकर्ताले त्यस आधारमा धारणा बनाउनुपर्छ।”
त्यस्तै नेता नेपालले आरोपको थालनी ओलीले नै गरेको प्रस्ट्याएका थिए। बैठक राख्न माग गर्दा ओलीले आरोप पत्र पठाएर सुरुआत गरेको उनको भनाइ थियो। उनले विधानको धारा ६० अनुसार कमिटीले निर्णय गरेर अघि बढ्नेसमेत प्रस्ट्याएका थिए। नेकपाको जारी स्थायी समिति र केन्द्रीय समितिबाट विवादको अन्तिम टुंगो लाग्ने उनले बताएका थिए।



लोकपाटी न्यूज

