नेपाल बुद्धिजीवी संगठनको विज्ञप्ति : ‘गणतन्त्रको बिकल्प प्रतिक्रान्ति हुन सक्दैन’

Buddijiwi-intellectual
लोकपाटी न्यूज

काठमाडौं, २६ मंसीर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने ऐतिहासिक जिम्मेवारीमा एकतावद्ध भएर बौद्धिक सक्रियता बढाउन सबै मार्क्सवादी बुद्धिीजीवीहरुलाई अपील गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनले परिवर्तनका मुद्दाहरुको पक्षमा सक्रिय हुन बुद्धिजीवीहरुलाई आव्हान गरेको हो।

संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सह–संयोजक कृष्ण केसीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘‘जननिर्वाचित सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आवरणमा जनताको व्यवस्थामाथि गरिने कुनै पनि प्रकारका आक्रमण प्रगतिशील बुद्धिजीवीका लागि मान्य हुन सक्दैन। तसर्थ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने ऐतिहासिक जिम्मेवारीमा एकतावद्ध भएर बौद्धिक सक्रियता बढाउनु सबै मार्क्सवादी बुद्धिजीवीको जिम्मेवारी हो।’’

संगठनले पार्टीभित्र विद्यमान विवादको मार्क्सवादी दृष्टिकोण, लोकतान्त्रिक विधि र प्रक्रियमार्फत् समाधान खोज्न पनि नेकपालाई आग्रह गरेको छ। ‘‘नेकपाको जारी स्थायी समितिको बैठकबाट समाजवादी कार्यदिशा, जनवादी केन्द्रीयता र लोकतान्त्रिक विधि एवं पद्धतिका पक्षमा निर्णय गर्दै नेकपालाई एउटा सच्चा माक्र्सवादी पार्टीका रुपमा अगाडि बढाउन र प्रतिगमनकारी शक्तिहरुका विरुद्धको संघर्षमा निर्णायक विजय हासिल गर्न हामी नेकपाका समस्त नेता–कार्यकर्तामा हार्दिक आव्हान गर्दछौं’’ विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्ति

जनताको ऐतिहासिक त्याग, बलिदानी र सङ्घर्षको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि पुनर्उत्थानवादी शक्तिहरुबाट भइरहेको प्रहारप्रति नेपाली वामपन्थी एवं प्रगतिशील बुद्धिजीवीहरुको अभिभावक संगठन नेपाल बुद्धिजीवी संगठनको गम्भीर ध्यानआकृष्ट भएको छ। सर्वप्रथम हाम्रो संगठन नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट प्राप्त जनपक्षीय उपलब्धीहरुलाई संस्थागत गर्दै नेपाली विशेषतासहितको समाजवादको दिशामा अग्रसर हुन सम्पूर्ण देशभक्त, प्रगतिशील एवं क्रान्तिकारी बुद्धिजीवीहरुमा हार्दिक आव्हान गर्दछ।

एसियाकै सबैभन्दा ठूलो एवं देशको सत्ताको बागडोर सम्हालेको कम्युनिस्ट पार्टी नेकपाभित्र चलेको वैचारिक बहसको संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै जनताको सङ्घर्षले सत्ताच्यूत गरेका शक्तिहरु प्रतिगमनको खेलमा लागेका छन्। तर, लोकतन्त्रको बिकल्प अझ उन्नत, अझ परिस्कृत र अझ समृद्ध लोकतन्त्र मात्र हुन सक्दछ, प्रतिगमन वा प्रतिक्रान्ति हुनै सक्दैन। जननिर्वाचित सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आवरणमा जनताको व्यवस्थामाथि गरिने कुनै पनि प्रकारका आक्रमण प्रगतिशील बुद्धिजीवीका लागि मान्य हुन सक्दैन। तसर्थ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने ऐतिहासिक जिम्मेवारीमा एकतावद्ध भएर बौद्धिक सक्रियता बढाउनु सबै माक्र्सवादी बुद्धिजीवीको जिम्मेवारी हो।

सरकार र व्यवस्थाको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विद्यमान बहस विचारधारात्मक राजनीतिक कार्यदिशा, जनवादी केन्द्रीयताको संगठनात्मक प्रणाली, समाजवादको नेपाली मोडेल, लोकतान्त्रिक विधि र प्रक्रियाका पक्ष र विपक्षमा चलेको बहस भएको हाम्रो संगठनको ठम्याइ छ। तसर्थ, नेकपाको जारी स्थायी समितिको बैठकबाट समाजवादी कार्यदिशा, जनवादी केन्द्रीयता र लोकतान्त्रिक विधि एवं पद्धतिका पक्षमा निर्णय गर्दै नेकपालाई एउटा सच्चा मार्क्सवादी पार्टीका रुपमा अगाडि बढाउन र प्रतिगमनकारी शक्तिहरुका विरुद्धको संघर्षमा निर्णायक विजय हासिल गर्न हामी नेकपाका समस्त नेता–कार्यकर्तामा हार्दिक आव्हान गर्दछौं।