नेपाल–भारतबीच आगामी साताभित्र हवाई उडान सुरु गर्ने तयारी

Nepal Airlines
लोकपाटी न्यूज

काठमाडौं। नेपाल–भारतबीच नियमित हवाई संचालन हुने भएको छ। नौ महिनापछि नेपाल र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउने गरी दुई देशबीच पुनः हवाई सुचारु हुन लागेको हो। नेपाल सरकारले भारतले सिफारिस गरेको एयर बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो।

एयर बबल स्किममा उडान गर्ने विषयमा नेपालले निर्णय गरेर भारतलाई जानकारी गराएको थियो। भारतले पनि संचालन गर्ने गरी नेपाललाई पत्र पठाएपछि दुई देशबीच पुनः हवाई संचालन हुन लागेको हो। नेपालबाट नेपाल एयरलाइन्सले भारतमा दैनिक एक उडान गर्ने छ भने भारतबाट एयर इन्डियाले नेपालमा दैनिक एक उडान गर्नेछ।

भारतले एयर इन्डियालाई उडान गर्नका लागि तोकेको पत्र प्राप्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

यस्तै, नेपाल वायुसेवा निगमले आगामी डिसेम्बर १७ बाट भारत उडान गर्ने तयारी गरेको छ। निगम प्रवक्ता करिश्मा श्रेष्ठले आगामी साताभित्र उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी बताइन्।

नेपाल एयरलाइन्सले भारतको दिल्ली दैनिक एक उडान नियमित रुपमा गर्ने छ भने भारतबाट पनि एयर इन्डियाले दैनिक एक उडान काठमाडौं गर्ने छ। गत चैत्रदेखि रोकिएको नेपाल भारत नियमित हवाई उडान ९ महिनापछि पुनः सुचारु हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्