काठमाडौं। पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ। गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ।
पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ। आयोजनाले अहिले सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ। चारवटा गेटमध्ये सिन्धु र अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए।
उनले भने, “ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ। सुन्दरी जलको गेट पानी पथान्तरण गर्दै गर्दा जडान गर्न मिल्नेछ।” पानी पथान्तरणअघि एसियाली विकास बैङ्कको विज्ञ समूहले अनुगमन गर्नेछ। सम्पूर्ण कामको पुनरवलोकन गरेपछि पानी पथान्तरण गरिने छ। प्रवक्ता शाक्यका अनुसार तीन चरणमा पथान्तरण गरिने छ।
पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड गरिने छ। तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ। सुरुङ फिनसिङको काम सकिएको छ भने हेडवक्र्सको काम भइरहेको छ। हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ।
हेडवक्र्स निर्माणको काम भइरहेको छ। सम्झौता अनुसार हेडवक्र्स आगामी माघसम्म सम्पन्न भइसक्नुपर्ने छ। निरन्तर काम भइरहेकाले सम्झौता अवधिभित्रै सकिने सम्भावना रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।



लोकपाटी न्यूज

