प्रचण्डले ओलीलाई भने : ‘माधव कमरेडमा नैतिकता छ, तपाईंमा देखिएन’

oli and prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका छन्।

बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्षबीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने भन्दै सहकार्यको प्रस्ताव राखेका हुन्।

ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने ओलीको शर्त रहेको उच्च स्रोतले जनायो।

ओलीले भने, ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ। तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन। हामी मिलौं।’ ओलीको प्रस्ताव थियो।

तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन भन्ने चिन्नु भएकै छैन। पछि थाहा पाउनुहोला’ भनेका थिए। प्रचण्डले जवाफमा दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका थिए।

प्रचण्डले भने ‘माधव कमरेडलाई म राम्ररी चिन्छु। तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’। ३५ वर्षअघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं। सँगसँगै लडेका छौं।’

प्रचण्डले विद्यार्थी, शिक्षक र मजदूरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको संस्मरण गरेका थिए। जनयुद्ध कालदेखि शान्ति प्रक्रियासम्म एमालेको प्रमुख नेताका रुपमा संगत गरेको ओलीलाई प्रचण्डले बताएका थिए।

श्रोतका अनुसार पूर्वएमाले मिल्ने भन्दै माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीकै प्रस्ताव गर्दा पनि नमानेको प्रसंग ल्याउँदै प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेका थिए। अध्यक्ष ओलीले भने ‘अझै सोच्नूस्’ भनेका थिए। मंसिर २१ मा स्थायी कमिटी बैठक भेटेपछि ओली र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो।