ओली–प्रचण्ड भेट : नेकपामा के पाक्दैछ खिचडी ?

Prachanda-Oli.jpg01
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले एक घण्टा छलफल गरे। उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। नेकपाभित्र दुवै अध्यक्षको शक्ति संघर्ष चलिरहेका बेला उनीहरूको भेटवार्ता भएको हो।

“उहाँ (दाहाल) आउनुभएको थियो। दुई जनाबीच एक घण्टा कुराकानी भयो। तर, मिडियामा भन्ने गरिको कुनै निष्कर्ष आएको छैन”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। यसअघि दुई अध्यक्षबीच सचिवालय बैठक बस्नुअघि २० मंसीरमा बालुवाटारमै संवाद भएको थियो। त्यसअघि २५ कात्तिकदेखि उनीहरूबीच कुनै संवाद भएको थिएन।

बुधबारको भेटमा स्थायी कमिटी बैठक र पार्टीभित्रको संकट समाधानका विषयमा दुई अध्यक्षबीच कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए। “स्थायी कमिटी बैठक, पार्टीभित्रको समस्यालगायतका विषयमा सामान्य कुराकानी भयो”, सापकोटाले भने।

२१ मंसीरदेखि नेकपाको स्थायी कमिटी बैठक शुरू भएको थियो। बैठक २८ मंसीरमा बस्ने गरी त्यसै दिन स्थगित गरिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। तर, उनले आफू बैठकमा नआउनुको कारण खुलाउँदै स्थायी कमिटीलाई पत्र लेखेका थिए। उनले अध्यक्ष दाहालले आफूविरुद्ध पेश गरेको ‘अभियोग–पत्र’मा छलफल हुन नसक्ने र त्यस्ता छलफलमा आफू सहभागी नहुने बताएका थिए।

यसबीचमा पार्टीभित्रको संकट समाधानका लागि नेताहरूबीच औपचारिक, अनौपचारिक सम्वाद जारी राख्ने विषयमा बैठकमा छलफल भएको थियो। वारपारको लडाईंमा उत्रिएका ओली र ‘प्रचण्ड’बीच बुधबार सम्वाद भए पनि सहमतिमा पुग्न उनीहरु असफल रहे।

प्रचण्ड मगंलबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेको र उनले ओलीसँग करिव एक घण्टा छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। प्रचण्ड र ओलीले यही मंसिर २० गते सचिवालय बैठक अघि वान टु वान वार्ता गरेका थिए।

वार्तापछि प्रचण्डले ओलीलाई फकाएर बैठकमा सामेल गराउन सफल भए पनि ओलीले त्यसको भोलीपल्ट तय गरिएको स्थायी कमिटि बैठकमा सामेल नहुने घोषणा गरेका थिए। आफ्नो पूर्वअडान अनुसार ओली २१ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको स्थायी कमिटि बैठकमा सहभागि भएनन्। तर उनले पत्र पठाएर आफ्नो अडान दोर्होयाएका थिए।

प्रधानमन्त्री बैठकमै उपस्थित हुन छाडेपछि अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई बैठकमा उपस्थित गराउने विषयलाई प्राथमिकतामा राखेका छन्। ओलीलाई बैठकमा बोलाएर आफ्ना कुरा सुनाउने उनीहरुको जोड छ।

सरकार र पार्टीका विषयमा उठेका प्राय सबै विषय ओलीसँग जोडिएकाले उनलाई बैठकमा नराखे औचित्य नहुने एक सचिवालय सदस्यले बताए। ‘सरकार र पार्टीसँग जोडेर प्रतिवेदन, पत्र आदानप्रदान भएका छन्। ती सबै विषय केपी कमरेडसँग जोडिएका छन्’ ती सचिवालय सदस्यले भने, ‘उहाँ (केपी ओली) ले आएर हाम्रा कुरा सन्नुपर्‍यो, छलफलमा सहभागी हुनुपर्‍यो। त्यसको जवाफ दिनुर्पयो। जवाफ चित्त बुझ्दो नआए के गर्ने भन्ने कुरा तपसिलका विषय भए।’

पार्टीमा बढी जवाफदेही पहिलो नम्बरका अध्यक्ष हुनुपर्नेमा उल्टै आफूहरु हुनु परेको ती सचिवालय सदस्यको भनाइ छ। ‘पहिलो नम्बरको अध्यक्ष सबैभन्दा धेरै जवाफदेही र जिम्मेवार हुनुपर्ने हो। पार्टीलाई विभाजनबाट रोकेर एकतावद्ध बनाउन लाग्नुपर्ने हो ’ उनले भने, ‘उल्टै पहिलो नम्बरका अध्यक्षले पार्टी विभाजन गर्छु। बहुमतको निर्णय मान्दिन भनेर अनेक धम्की दिनुहुन्छ।’

यसअघि बसेको सचिवालय बैठकमा ओलीलाई प्रचण्डले फकाएर बैठकमा सहभागी गराएका थिए। त्यहीँ बैठकबाट स्थायी कमिटी बैठकको मिति तय भएको थियो। तर, गत २१ मंसिरको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित भएपछि धेरै विषय यथावतै भएका थिए। अब बस्ने स्थायी कमिटी बैठकमा ओलीलाई समेत सहभागी गराई छलफल गर्ने प्रचण्ड–नेपाल पक्षको रणनीति छ।