काठमाडौं। मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेकपाले लिएको छ।
पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएको हो।
लामो समयदेखि सुराकी गर्दै आएको र सच्चिन पटक पटक भन्दा पनि नमानेपछि शिक्षकको हत्या गरिएको माओवादीले स्पष्ट पारेको छ।मंगलबार बिहान पनि शिक्षक श्रेष्ठलाई सम्झाइबुझाइ गर्न जाँदा हतियार लिएर आएकाले प्रतिकारका क्रममा उनको मृत्यु भएको जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ।
शिक्षक श्रेष्ठले आफ्नो पार्टीलाई दमन गर्न प्रहरी परिचालन गरेको, जनताका घर घरमा प्रहरी पठाएर नेकपा कार्याकर्तालाई खान बस्न नदिन भनेको, पार्टीको मेची-कोशी ब्युरोको बैठकमा प्रहरी बोलाएर दमन गराएकोलगायत आरोप माओवादीको छ।
मंगलबार बिहानै विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका प्रधानाध्यापक श्रेष्ठलाई नृशंशतापूर्वक हत्या गरिएको फेला पारिएको थियो।
उनको गोली प्रहारबाट हत्या गरिएको भनिएतापनि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको बताए।




लोकपाटी न्यूज

