काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आफ्नो स्रोतसाधन, जनशक्तिबाट उचाइ मापन गरी अन्तिम रूप दिइएको सगरमाथाको नयाँ उचाइ घोषणा हुनु नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाइको पनि घोषणा भएको बताएका छन्। सगरमाथाको उचाइ घोषणा कार्यक्रममा मन्त्री ज्ञवालीले सगरमाथाको बारेमा आधिकारिता, वैज्ञानिक तथ्य प्राप्तिसँग आम सहमति पनि भएको बताए।
सगरमाथाको उत्तर भूभाग जनवादी गणतन्त्र चीनसँग सम्बद्ध रहेको भन्दै उनले विश्वसनीयताका लागि पनि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्नु आवश्यक रहेको बताए। ‘आज सगरमाथाको मात्र होइन नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाइ घोषणा भएको छ। सगरमाथाको बारेमा आधिकारिक, वैज्ञानिक तथ्य मात्र प्राप्त भएको छैन। की त्यो तथ्यसँग आम सहमति पनि भएको छ,’ उनले भने, ‘सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ। त्यसो भएकाले यसको विश्वसनीयताका लागि उचाइ संयुक्तरुपमा घोषणा गरिनु आवश्यक पनि थियो।’
नेपालको नापी विभागले उचाइ मापन गरी गरेको तथ्यांक प्रशोधन गरेपछि आएको नतिजा चिनियाँ अधिकारीहरूले गरेको सर्भे र उनीहरूले निकालेको तथ्यांक मेल खानुले तथ्यहरूमा कुनै दुविधा वा भ्रमको अन्त्य भएको मन्त्री ज्ञवालीको भनाई थियो।
‘नेपालको नापी विभागले सुरु गरेर तथ्यांकहरु प्रशोधन गर्दै जुन बिन्दुमा पुर्याएको थियो। चिनियाँ मित्रहरूको सर्भे र उहाँहरूको तथ्यांक प्रशोधनमा पनि ठ्याक्कै त्यही नतिजा देखा परेका छन्। अब तथ्यहरूमा कुनै दुविधा, कुनै अन्योल र कुनै भ्रमहरू बाँकी छैनन्’, उनले भने, ‘यसले हाम्रो मापनको वैज्ञानिकता र यसको आधिकारिकता पनि थप पुष्टि गरेको छ । यस अर्थमा आज विशेष दिन, गौरव गर्न लायक र सम्झन लायक दिन हो।’
मन्त्री ज्ञवालीले उचाइ मापनका क्रममा सगरमाथाको आरोहण तथा तथ्यांकहरुको प्रशोधन गरी अन्तिम नतिजा निकाल्नमा आ आफ्नो ठाउँबाट योगदान गर्ने सबै टिमलाई बधाई तथा धन्यवाद समेत दिए।



लोकपाटी न्यूज

