सरगमाथाको उचाईबारे दुविधापूर्ण स्थितिको अन्त्य भयोः मन्त्री अर्याल

Padma_Aryal
लोकपाटी न्यूज

काठमाडौं। भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको बताउँदै यसले नेपाल र नेपालीको समेत उचाई बढाएको बताएकी छिन्।

मंगलबार नापी विभाग काठमाडौंमा गरिएको सगरमाथाको उचाई घोषणा एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सगरमाथको उचाई मापनको १ सय ७० वर्षको इतिहासमा आफ्नै स्रोत र साधनमा पहिलो पटक मापन गर्न सफल भएको उल्लेख गरिन्।

उनले भनिन्, ‘यो हाम्रो लागि विश्व कीर्तिमानपनि हो। सगरमाथामा नेपालका सर्भेयरको पहिलो पाइला परेको छ। यो नेपालीका लागि सुखद क्षण हो। हामीले गरेको मापन कार्यबाट सरगमाथाको उचाई सम्बन्धमा रहेका दुविधापूर्ण स्थिति र आशंकाहरुको अन्त्य भएको छ।’ मन्त्री अर्यालले नेपाली आफैले सगरमाथाको उचाई मापन गर्न सफल भएका कारण नेपालको छवि अन्तराष्ट्रिय जगतमा प्रविधिमा सक्षम मुलुकको रुपमा स्थापित हुन सफल भएको बताइन्।

उनले भनिन्, ‘आजबाट संसारका विज्ञहरुबीच उच्च हिमाली भूभागको सर्वेक्षण र मापनको चर्चा हुँदा सवैभन्दा पहिला नेपाल र नेपाली सर्भेयरहरुको नाम लिइनेछ। यो सबै अवसर त्यसै प्राप्त भएको होइन, यो चर्चा पैसा खर्च गरेर विज्ञापन गरेर मात्रै प्राप्त हुने पनि होइन्, यसका लागि काम गरेर देखाउनुपर्ने हुन्छ, जुन हामीले गरेर देखायौँ।’

उनले सगरमाथाको उचाई ८८४८.८६ मिटर कायम भएको उल्लेख गरिन्। सगरमाथा मापनका लागि १३ करोड रुपैयाँ बढी खर्च भएको छ। कार्यक्रममा सगरमाथा सर्वेक्षणमा गएका नापी अधिकृत खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी, युवराज धिताल लगायतको टोलीलाई सम्मान समेत गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्