प्रधानमन्त्रीको भूमिका समन्वयकारी देखिएन : रामचन्द्र पौडेल

Ramchandra-Poudel
लोकपाटी न्यूज

काठमाडौं। बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठकमा विपक्षी दलहरुले सरकारको आलोचना गरेका छन्।

संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सरकारले गणतन्त्र विरोधी गतिविधिलाई रोक्न नसकेको तथा सरकार काम कारवाही प्रभावकारी नहुँदा नागरिकमा निरासा पैदा भएको भन्दै आलोचना गरेका थिए।

सो क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको भूमिका समन्वयकारी नदेखिएको आरोप लगाएका थिए। आफ्ना आफन्त र मन्त्रीहरूका भ्रष्टाचारका आरोपहरूको ढाकछोपमा आफैँ अगाडि सरेको आरोप लगाउँदै नेता पौडेलले ठूला भ्रष्टाचार काण्डमा अख्तियार असफल भएको र अदालत समेत प्रभावमा पारिएको जस्तो देखिएको बताए।

कोरोना भाइरसको रोकथाममा समेत सरकार जिम्मेवार नदेखिएको उनले आरोप लागाएका थिए। संविधानले परिकल्पना गरेका आयोगहरूका ३९ पद अहिले सम्म खाली रहेको स्मरण गराउँदै नेता पौडेलले पारदर्शी ढंगले उपयुक्त व्यक्तिको छनोट गर्नुको सट्टा आफू र कांग्रेस सभापतिले अनुकूल ठान्ने व्यक्ति खोजेको भन्दै विरोध गरे।