ओली बैठकमा नआए दलको नेता गुमाउनुपर्नेछ : अष्टलक्ष्मी शाक्य

asta-laxmi shakya
लोकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीमा सहमतिका साथअघि बढ्ने समझदारी रहेको बताएकी छन्। नेता शाक्यले स्थायी कमिटीमा सहमतिका आधारमा पार्टीमा उत्पन्न विवाद समाधान गर्ने प्रयत्न गरिने बताइन्।

लामो समयदेखि पार्टी अनिर्णयको बन्दीमा रहेकोले अब पार्टीको जारी बैठकबाट ठोस निषकर्षका साथ अगाडि बढाइने उनले बताएन्। शाक्यले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अब पनि आगामी स्थायी कमिटी बैठकमा पनि उपस्थित नभए उनलाई नै घाटा हुने बताए।

उनले भनिन्, ‘सकेसम्म हामीले सहमति गर्ने भनेका छौँ। तर बैठकमै सहभागी नहुनेलाई दलको नेता भन्न मिल्छ? उहाँले हामीहरुलाईसमेत अपमान गर्नु भएको छ। आगामी बैठकमा उहाँ आउनु भएन भने उहाँले ठूलो घाटा व्यहोर्नुपर्ने छ।’

आइतबारको स्थायी कमिटी बैठकमा ओली सहभागि भएका थिएनन्। आफू सहभागि नभएपनि उनले सचिवालय सदस्य इश्वर पोखरेल मार्फत बैठकमा पत्र पठाएका थिए। ओलीले पत्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने अडान भने कायम राखेका छन्। तर प्रचण्डसहित बहुतम सदस्यहरु प्रस्ताव फिर्ता नहुने र उक्त प्रस्तावमाथि छलफल गर्नुपर्ने अडामा छन्।

नेता शाक्यले ओली आफ्ना तमाम गल्तीहरुका कारण झनझन कमजोर भएको र आफूहरुसँग सामना गर्ने शक्ति गुमाइसकेको समेत निष्कर्षसमेत सुनाइन्। ‘प्रधानमन्त्री ओली आफ्नै पार्टी कार्यालयमा आउन नसक्ने स्थिति बन्यो। उहाँलाई कस्तो सुरक्षा थ्रेट हो यो? अर्कोतिर उहाँले हामीसँग केही सिप नलागेर हारगुहार गर्नु भएको छ, विवेकपूर्ण निर्णय लिनु भनेर। यो कस्तो प्रवृति हो?’