काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी अहिले बहुमत र अल्पमतको आधारमा निर्णय गर्ने अवस्थामा नपुगेको बताएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकपछि गुरुङले पार्टीको स्थायी कमिटी बैठकमा अल्पमत र बहुमतको विषय नउठेको पनि बताए।
उनले यस्ता विषय बैठक बाहिर सार्वजनिक खपतका लागि मात्र बोलिने गरेको बताए। मुख्यमन्त्री गुरुङले पार्टी विधानबमोजिम सहमति गरेर अगाडि बढिने बताए। ‘स्थायी कमिटी बैठकमा अल्पमत-बहुमतका आधारमा निर्णय गरिने विषयमा छलफल भएको छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘तपाईंहरू (पत्रकार) प्रश्न सोध्नुहुन्छ। नेताहरू बोल्नुहुन्छ। बाहिर बोलेपछि त्यो सार्वजनिक खपतका लागि मात्रै बोलेको देखिन्छ।’
बैठकमा दुवै अध्यक्षको प्रतिवेदन पेस भए पनि पार्टीमा छलफल गरी सहमतिका आधारमा अगाडि बढिने गुरुङको भनाइ छ। अहिलेको मुख्य उद्देश्य पार्टी एकता जोगाउने रहेकाले सहमति गर्नुको विकल्प नरहेको उनको तर्क छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी भएपनि पार्टी एकता जोगाउने पक्षमा रहेको मुख्यमन्त्री गुरुङको भनाई छ।
‘आजको बैठकमा प्रचण्ड कमरेडले पार्टी एकतालाई जोगाउने हो। एक हप्तापछि हुने बैठकमा तयारी गरेर आउनुस् भन्नुभएको छ।’ गुरुङले भने, ‘समस्याको समाधान कसरी गर्ने ? प्याकेजमा समस्या समाधान गरी निर्णय गरेर अगाडि बढ्ने भन्नु भएको छ।’ स्थायी कमिटीमा निर्णय भएपछि मात्रै केन्द्रीय कमिटीमा निर्णय गरिने प्रचण्डको भनाइ रहेको मुख्यमन्त्री गुरुङले उल्लेख गरे।



लोकपाटी न्यूज

