पार्टी बैठकले अब ओलीलाई कुरेर बस्दैनः भीम रावल

Rawal_Bhim
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अनिर्णयको बन्दी नहुने बताएका छन्। आइतबार बसेको स्थायी कमिटी बैठकपछि रावलले पार्टीका केन्द्रीय कमिटीले यथोचित निर्णय गरेर नेकपा अगाडि बढ्ने बताएका हुन्।

‘पार्टीका बैठकहरुले निर्णय गर्छन्। प्रत्येक व्यक्तिका धारणाहरु हुन्छन्‚ जसका जस्तो दृष्टिकोण भएपनि पार्टी अनिर्णयको बन्दी बन्दैन। यो कुरा सुश्चित छ‚’ रावलले भने, ‘तर, पार्टीमा समस्या उत्पन्न भइसकेपछि हामीले ती समस्याहरुलाई कति हदसम्म छलफल गर्ने ? कुन स्तरमा छलफल गर्ने‚ कति समय दिने भन्ने कुरा लचकता पनि हुन सक्छ।’

अब पार्टी पार्टी विधि पद्धतिअनुसार अगाडि बढ्ने उनले बताए। नेता रावलले मंसिर २८ मा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने विश्वास पनि व्यक्त गरे। ‘अर्को बैठकमा उहाँ आउनुहुन्छ। बैठकमा अध्यक्ष नआउने भन्ने हुँदैन,’ उनले भने, ‘जेजस्ता समस्या छन् गम्भीर रूपमा छलफल गर्नुपर्छ। निष्कर्ष निकाल्नुपर्छ।’

आजको स्थायी कमिटीमा ओली उपस्थित भएनन्। तर ओलीले सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत् पत्र पठाएका थिए। उनले अब बस्ने स्थायी र केन्द्रीय समितिबाट आन्तरिक समस्या उचित किसिमबाट हल गरिने पनि बताएका छन्। ‘भौतिक रूपमा कुनै कारणले उहाँ आउनु भएन होला राजनीतिक रूपमा आउनुभएको छ,’ उनले भने, ‘पत्रमा बैठक बहिष्कार गर्छु भन्नुभएको छैन। स्थायी कमिटीका कमरेठहरू भन्ने सम्बोधन गर्नुभएको छ त्यो बैठकमा मात्रै हुन्छ।’