ओली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्ष होइनन् : विष्णु रिजाल

bishnu-rijal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्ष नभएको बताएका छन्।

उनले नेकपा (एमाले) को टिकटमा सांसद जितेपछि उनलाई शारदा अधिकारीको घरमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो र धुम्बराहीमा बसेको संसदीय दलको बैठकले नेता चुनेको बताए।

एमालेसँग एक्लै बहुमत नभएकाले नेकपा (माओवादी केन्द्र) ले समर्थन गरेपछि ओली संयुक्त सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका बताए।

नेता रिजालले भने,‘उहाँ प्रधानमन्त्री निर्वाचित भएको तीन महिनापछि मात्रै एमाले र माओवादी एक भएका थिए। ठीक छ, उहाँ नै प्रधानमन्त्री रहिरहँदा फरक पर्दैन। तर, आफू पाँच वर्षका लागि ‘जनताबाट निर्वाचित हुँ र कसैले बीचैमा चाहेर पनि हटाउन सक्दैन’ भन्ने उहाँको बुझाइ र तर्क पार्टी प्रणाली, संसदीय व्यवस्था र संविधान सम्मत हुँदैन।’