स्थायी समिति बैठकमा जनार्दनको विशेष प्रस्ताव (प्रस्तावको पूर्णपाठ)

Janardan Sharma
लोकपाटी न्यूज

काठमाडौं। आइतबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टीका नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका छन्। शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ।

नेकपाको सरकार र गृह प्रशासनले यस्ता क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुन्निन थालेको भन्दै संघीयताको पक्षधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

यस्तै कोभिड महामारीबारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरसबाट जनताको जीवन रक्षा गर्नका साथै पूर्ण रुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था सिर्जना गर्नुपर्नेमा पनि जोड दिइएको छ। उनले यसबारे सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गराउँदै यसबारे छलफल एवं तत्काल निर्णयमा पुग्नका लागि विषेश प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

प्रस्ताव हेर्नुहोस्

क.अध्यक्षद्वय,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ।

विषयः  विशेष प्रस्तावमा तत्काल छलफल गर्नेबारे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन। यस बिचमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट उत्साहित गणतन्त्र विरोधीहरु आज खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन्। नेकपाको सरकार र गृह प्रशासन यस्ता क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुन्निन थालेको छ। बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ। यसबाट नेपाली जनतामा ठूलो असन्तुटि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटि बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं। जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउनेबारे हाम्रो नेतृत्व स्पष्ट नै छ। तसर्थ संघीयताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावनाअनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटिलाई सम्बोधन गर्न अब ढिला गर्नु हुँदैन।

मुख्य गरी कोभिड महामारीबारे तत्काल भ्याक्सिन ल्याई कोरोणा भाइरसबाट जनताको जीवन रक्षा गर्नका साथै पूर्ण रुपले आर्थिक गतिविधिहरु सुचारु हुने अवस्था सिर्जना गर्नुपर्दछ। अन्य समस्याहरुसमेत प्राथमिकता तोकी समाधान गर्नुपर्दछ। म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एवं तत्काल निर्णयमा पुग्नका लागि यो विषेश प्रस्ताव प्रस्तुत गर्दछु।

जनार्दन शर्मा (क. प्रभाकर)
स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)