‘नेकपा केन्द्रीय कमिटीको बैठक सर्‍यो’

Nepal_Communist_Party_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सरेको छ। आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक सारेको हो। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ।

यसअघि पार्टी केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि बोलाइएको थियो। मङ्सिर २८ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएपछि केन्द्रीय कमिटीको बैठक सारिएको हो। स्थायी कमिटीको बैठक सकिएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने नेकपाको तयारी छ।

‘आजको बैठकमा अध्यक्ष कमरेड प्रचण्डले मात्रै आफ्ना कुरा राख्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने ‘आगामी बैठक २८ गते र केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने निर्णय भएको छ।’ आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागी थिएनन्।

शनिवारको नेकपा सचिवालय बैठकले पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्ताव छलफलका लागि स्थायी कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको थियो। स्थायी कमिटीको छलफल पछि दुवै अध्यक्षका प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने नेकपाको तयारी छ। सचिवालयमा उत्पन्न विवाद समाधान नभएपछि अध्यक्ष प्रचण्ड सहित सचिवालय बहुमतका सदस्यहरूको राय अनुसार पार्टी केन्द्रीय कमिटीबाट विवाद समाधानको उपाय खोजिने छ।