पार्टी बैठकमा ओली अनुपस्थित, बालुवाटारमा के गर्दैछन् ?

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्।

नेकपाका एक नेताका अनुसार ओली बालुवाटारमा आफूनिकटका नेताहरूसँग छलफल तथा परामर्शमा व्यस्त रहेका छन्। शनिवार बसेको सचिवालय बैठकले ओलीको असहमतिका बिच बहुमत सदस्यहरूबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

यससँगै नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको नेकपा नेताहरू बताउँछन्। नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेसँगै ओली पार्टीमा थप अप्ठ्यारोमा परेका छन्। त्यस कारण उनी स्थायी कमिटी बैठकलाई लिएर आफू निकट नेताहरूसँग छलफलमा छन्।

यता धुम्बाराहीमा जारी बैठकलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री ओली बाहेक सचिवालयका ८ जना जना नेता सहभागी छन्। शनिवारको सचिवालय बैठकले पार्टीको सङ्कट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरू स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय थियो।

उक्त प्रस्तावहरू स्थायी कमिटीमा पेस हुने र प्रस्तावमाथि छलफल प्रारम्भ गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। तर ओली भने त्यसमा असन्तुष्ट छन्। पार्टीको विवाद सचिवालयमा नै हल गर्नुपर्नेमा उनको जोड रहँदै आएको थियो।