‘नेकपा मुख्यालयमा सुरक्षा व्यवस्था कडा पारियो’

dhumbarahi
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय, धुम्बाराहीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। स्थायी कमिटी बैठक सुरु हुनुअघि पार्टी कार्यालय धुम्बाराहीमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

विगतका बैठकमा यति ठुलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थिएन। कार्यालय नजिक रहेका केही घरको छतमा समेत सुरक्षाकर्मी राखिएको छ। एसएसपीको नेतृत्वमा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा स्रोतको भनाइ छ।

निर्धारित दिउँसो १ बजेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आएका छैनन्। तर, अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम आइसकेका छन्।

यसअघि नेकपा सचिवालय बैठक धुम्बाराहीमा बोलाइएको भए पनि सुरक्षाको कारण देखाउँदै बालुवाटारमा बैठक बसेको थियो। आजको स्थायी कमिटी बैठक एक बजे बोलाइएको हो। तर बैठक अहिलेसम्म सुरु भएको छैन।