काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमको सचिवालयले प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठुलो हिस्सा उनका प्रेस सल्लाहकार सूर्य थापा पनि रहेको आरोप लगाएको छ। थापाले उपाध्यक्ष गौतमको ७ वर्ष पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर कु-प्रचार गर्न खोजेपछि गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले उक्त कार्यप्रति आप्ति जनाउँदै उक्त जवाफ फर्काएका छन्।
सुवेदीले थापामाथि टेप रेकर्ड र चोरी गरेको आरोप पनि लगाएका छन्। शनिवार बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले सल्लाहकार थापालाई प्रधानमन्त्रीले कारबाही गर्नुपर्ने बताएका थिए। सोही विषयलाई लिएर थापाले आइतबार बिहान गौतमविरुद्ध सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गरेका थिए। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेताहरूको आलोचना गर्ने गरेको भन्दै नेकपाभित्र उनको चर्को विरोध हुँदै आएको छ। उनी उपप्रधानमन्त्री ईश्वर पोखरेल निकट मानिन्छन्।
सोही विषयलाई लिएर गौतमका प्रेस सहयोगी सुवेदीले थापाको चर्को आलोचना गरेका छन्। उनले थापा संगठन प्रणालीबाट विकास भएर आएको नेता नभएको आरोप लगाएका छन्। उनले थापालाई नेताको चाकडी गर्ने र हुर्मत लिने भन्दै आलोचना गरेका हुन्। ‘सूर्य थापा भन्ने केटो, जसको काम-पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो,’ सुवेदीले फेसबुकमा लेखेका छन्।
उनले २०७४ सालको चुनावमा गौतमलाई हराउन भूमिका खेलेको भन्दै त्यस्ता व्यक्तिलाई कारबाही हुनुपर्नेमा प्रधानमन्त्रीको सल्लाहकार बनाइएकोमा असन्तुष्टि समेत जनाए।
यस्तो छ सुवेदीको सन्देशः
साथीहरू,
सूर्य थापा भन्ने केटो, जसको काम-पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेकपा उपाध्यक्ष क. वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ । उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ । जसप्रति उहाँले तत्कालै क्षमा मागी सक्नुभएको छ । सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो । सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा-शैलीसहित गाली गलौच गर्न पाउने ?
पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ । त्यसउपर कारबाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो । तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ । यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठुलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ ।
कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बदनाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?
प्रिय मित्रहरू,
खासमा यो सूर्य थापा भनेको कुनै सङ्गठन प्रणालीबाट विकास भएर आएको नेता होइन । जनताको बिचमा कार्यक्षेत्र बनाएर आजसम्म काम गरेको छैन । काठमाडौँ आउँदा (०४९ सालतिर) सरस्वती क्याम्पसको पढाई खर्च धान्नका लागि कांग्रेससम्बद्ध पुनर्जागरण पत्रिकामा जागिर खाएर टेप रेकर्ड चोरीको काण्डमा लागेको मान्छे । ०५१ मा मनमोहन सरकार बनेपछि गोरखापत्रमा जागिर खान दौडिएर नसकेपछि दृष्टिमा भर्ती भएको र त्यसपछि पार्टी अफिसको जागिर खाँदै नेताको चाकडी बजाएको भरमा अहिले केन्द्रीय सदस्यसम्म भएको मान्छे हो ।
अखिलको क्याम्पस प्राकमा सचिवसम्म भएको मान्छे त्यसपछि कहिल्यै पनि समुदायको बिचमा राजनीति नगरी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बन्नु आफैँमा आश्चर्यको विषय हो । माधव नेपाल शक्तिमा आए उनैको भक्ति, झलनाथ उनैको, अहिले केपी ओली हुँदा फेरि तिनैको फेरो समातेर नेतालाई मनलाग्दी लेख्दै भन्दै हिँड्न पाउने यो साँढेलाई तह लगाइयोस् माग थुप्रै कार्यकर्ताले गर्नु स्वाभाविक पनि छ ।
यसबाहेक यो मान्छेका अरू व्यक्तिगत स्वभावका टिप्पणी नगरौँ । हामी उसले नेताहरूलाई बदनाम गर्ने धन्दा चलायो भन्ने नाममा उसका निकृष्ट व्यक्तिगत चरित्रतर्फ जाँदैनौं । मात्रै, यस्ता मान्छेलाई सम्मानित दर्जाबाट मुक्ति दिलाए पार्टी र सरकारको इज्जत बच्ने थियो ।



लोकपाटी न्यूज

