नेकपा स्थायी समितिको बैठकअघि दोस्रो तहका यी नेताले गरे छुट्टै बैठक

Esthae kamiti meeting
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका दुवै अध्यक्षले सचिवालय बैठकमा बेग्ला बेग्लै राजनीतिक प्रस्ताव ल्याएपछि उत्कर्षमा रहेको विवाद अब स्थायी कमिटीतर्फ प्रवेश गरेको छ। पार्टीको विवादलाई अब स्थायी कमिटी र केन्द्रीय कमिटीबाट किनारा लगाउने नेकपाको तयारी छ। शनिवार बसेको सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको असहमतिबीच दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटीमा लिने निर्णय गरेको थियो।

बैठकका बहुमत सदस्यहरूबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको नेकपा नेताहरू बताउँछन्। योसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन्। स्थायी कमिटीमा सहमति नबने पार्टीमा थप विवाद उत्पन्न हुने सक्ने भएकोले सम्भावित खतराको आंकलनसहित नेकपाका दोस्रो दर्जाका नेताहरू सक्रिय हुन थालेका छन्।

उनीहरूले अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति बनाउन पहल थालेका हुन्। शनिवार सचिवालय बैठक सकिनासाथ विष्णु रिमाल र शङ्कर पोखरेलसँग घनश्याम भुसालले छलफल गरेका छन्। त्यसपछि टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग पनि नेता भुसालले छलफल गरेका थिए। यसैबिच नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। दुवै अध्यक्षको प्रस्ताव पेस गर्दै स्थायी कमिटी बैठक केही दिन स्थगनको तयारी भएको छ।

प्रस्ताव पेस गरेर बैठक केही दिनलाई स्थगित गर्ने तयारी भएको स्थायी कमिटी सदस्य घनश्याम भुसाल र हरिबोल गजुरेलले सङ्केत गरेका हुन्। नेता गजुरेलले भने, ‘आजको बैठकमा दुवै प्रस्ताव पेस हुन्छ र अध्ययनका लागि केही दिन बैठक स्थगित हुन्छ। त्यो बिचमा सहमतिको प्रयास हुन्छ। बाहिरी माहौलले पनि सहमति नगरी नहुने स्थिति आयो।’