ओली हट्दा कस-कसकाे जान्छ जागिर ?

Baluwatar
लोकपाटी न्यूज

काठमाडौं। नेकपाभित्रको अन्तरबिरोध चर्किंदै जाँदा समस्या समाधानसँगै सबैजना आफ्नो ‘पोजिशन क्लियर’ बनाउने ध्याउन्नमा देखिन्छन्। अध्यक्षद्वयदेखि पदाधिकारी सबै र सचिवालयका सदस्यहरूले ढुक्कको अवस्था खोजेको स्रोतको दाबी छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको पोजिशन यताउता हुँदा त्यसको असर शीतल निवासदेखि बालुवाटारको किचन क्याबिनेटदेखि सल्लाहकारहरूसम्म पर्ने भएकाले उनीहरू चिन्तित हुनु स्वाभाविक हो।

उता,विगतका प्रभावशाली तथा हाल स्पष्ट ‘पोजिशन’ खोज्दै हिँडेका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेललाई पनि सहमति र समस्या समाधानको नाममा आफूलाई कहाँ पुर्याउने भन्ने डर रहेको खुमलटारको विश्लेषण छ। यता,बालुवाटारको विश्लेषणअनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पावर एक्सरसाइजमा पछाडि परिने डरले तत्काल प्रधानमन्त्री बन्नु परेकोले कतै पछाडि पो धकेलिने हो की भन्ने डरले घर गरेको बताइन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल पार्टीभित्रको समस्या समाधानको लागि बालुवाटारको तर्फबाट सबैभन्दा बढी खटिनेमध्येमा पर्छन्। पोखरेल पनि दौडिँदा दौडिँदै आजित बनिसकेका पो हुन् कि भन्ने अवस्था देखिएको छ।

खरेलद्वयलगायत बालुवाटारका मध्यस्थकर्ताहरू अधिकांश नेपाल समूहसँग ‘टाईअप’ गरेर अघि बढ्नुपर्ने मनस्थितिमा रहेको स्रोतको दाबी छ। उनीहरू सबैको एउटै समस्या भनेको प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नछाड्ने हठ र जिद्धिपना हो ।

पार्टी कुनै हालतमा फुट्नु हुँदैन भन्ने बालुवाटारको दोस्रो तहका नेता तथा सल्लाहकार समूहले बनाएको अन्तिम रोडम्यापमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष दिएर भएपनि मिलाउनुपर्ने विकल्प राखिएको बुझिएको छ। उनीहरूले प्रधानमन्त्री चाँहि कुनै हालतमा नछाड्ने गरी अघि बढ्नुपर्ने निकटस्थहरूसँग बताएका छन्।

तर, त्यसको लागि सचिवालयमा प्रस्तुत दुई वटै प्रस्ताव फिर्ता गरेर संयुक्त प्रस्ताव बनाउनुपर्ने शर्त अनिवार्य बनाउने सम्भावना देखिन्छ। अन्यथा,दुई वटामध्ये एउटा पद छाड्नुपर्ने खुमलटारको अडानमा बालुवाटार लचिलो हुने सम्भावना छैन भनिन्छ। जनाआस्थाबाट