काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध अध्यक्ष केपी शर्मा ओली पक्षधरका केही नेताहरू तल्लो स्तरमा उत्रिएर अमर्यादित पोस्टहरू गर्न थालेका छन्। प्रधानमन्त्री एवं अध्यक्ष ओलीका प्रेस संयोजक सूर्य थापानै सामाजिक सञ्जालमार्फत तल्लो स्तरमा उत्रिएर कु-प्रचार गरिरहेका छन्।
उपाध्यक्ष गौतमको पुरानो तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेर कु-प्रचारमा लागेका हुन्। पार्टीमा अल्पमतमा परेका ओलीको प्रस्ताव गौतमले अस्वीकार गरेपछि उनीविरुद्ध ओली पक्षधरका नेताहरू सुनियोजित रूपमा कु-प्रचार गर्न थालिएको छ। गौतमको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर थापाले ‘को कस्तो ? तस्बिर काफी छ’ भनेर लेखेका छन्।
उपाध्यक्ष गौतमले आफ्नो समर्थन नगरेपछि ओली पक्षधर तल्लो स्तरमा उत्रिएर कु-प्रचारमा लागेको नेकपा एक नेताले बताए। शनिबारको सचिवालय बैठकमा ओलीले रामबहादुर थापा ‘बादल’मार्फत पार्टीमा उत्पन्न समस्या समाधानका लागि गौतमको नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए। गौतमले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका थिए। त्यसपछि उक्त प्रस्ताव सचिवालयबाट अस्वीकृत भएको थियो।
यस्तै स्थायी कमिटीको बैठक बोलाउने विषयमा पनि ओलीले असहमति जनाएका थिए। तर बहुमतका सदस्यहरूले बहुमतबाट स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेपछि ओलीले आफूमाथि पार्टीमा बल प्रयोग गरेको आरोप लगाएका थिए। पार्टीभित्र ओली अप्ठेरोमा पर्न थालेपछि उनी निकट नेताहरू इतर समूहविरुद्ध कु-प्रचारमा उत्रिन थालेको ती नेताले बताए।




लोकपाटी न्यूज

